तराई र पहाडी जिल्लामा नेपाली सेना ‘हाई अलर्ट’ मा, प्रधानसेनापतिले दिए सनसनीपूर्ण बयान

काठमाडौँ, १ चैत । १२ वर्षपछि नेपाली सेना सडकमा निस्किएको छ । तराई मधेसका जिल्लामा सीके राउतको पृथकतावादी आन्दोलन र पहाडी जिल्लामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सशस्त्र युद्ध सुरुवात गर्न सक्ने देखिएपछि नेपाली सेनाले गस्ती सुरु गरेको छ ।

नेपाली सेना हतियारसहित सडकमा निस्किएपछि पहाडी र तराईका जिल्लामा सर्वसाधारणले फेरि द्वन्द्व चर्कने त होइन भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । पछिल्लो समय विप्लवका कार्यकर्ता हतियारसहित सडकमा खुलेआम हिँड्न थालेपछि प्रधानमन्त्री केपी ओली सेना परिचालनको मनस्थितिमा देखिएको स्रोतले बतायो । त्यसैको प्रयोजनका लागि सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको तथा ३५ दिनभित्र हतियार बुझाउन निर्देशन दिएको छ ।

यता, गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विधेयक संसदमा पुगेको छ । असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने व्यवस्था विधेयकमा छ ।

राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विधेयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राष्ट्रिय संकट उत्पन्न भए वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट आउने देखिए र तत्काल सुरक्षा परिषद्को बैठक सम्भव नभए अध्यक्षले सेना परिचालनको सिफारिस गर्न सक्ने उल्लेख छ ।

सीके राउतको पृथकतावादी आन्दोलन, विप्लवको सशस्त्र युद्ध, राप्रपाको हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने अभियान, पूर्वराजा ज्ञानेन्द्र शाहको राजसंस्था पुनस्र्थापित गर्ने अभियान अहिले मुलुकमा खुला रूपमा सतहमा देखिएको छ । यसैले जुनसुकै अवस्था मुलुकमा आउन सक्ने आंकलन गर्दै सीधै सेना परिचालन गर्नसक्ने विधेयक ल्याइएको हो ।

यसैबीच, देशको पछिल्लो अवस्थाबारे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दिएको अभिव्यक्ति अहिले चर्चामा छ । उनले राष्ट्रिय एकता र अखण्डताका लागि नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् ।

लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित गण्डकी प्रदेशस्तरीय छैटौं लमजुङ महोत्सवको समापन समारोहमा थापाले नेपाली सेना नेपाली जनताको साझा सेना भएकाले नेपालको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको लागि प्रतिबद्ध रहेको बताए ।

उनले राष्ट्रिय एकताका लागि संविधानले नै नेपाली सेनालाई जिम्मेवारी दिएको भन्दै आफ्नो जिम्मेवारीप्रति सेना जिम्मेबार रहेको दाबी गरे ।
सीके राउतको स्वतन्त्र मधेस संगठनले विखण्डनको नारा अघि सारेकाले नेपाली सेना विशेष सजग भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!