एउटा सरकारी कार्यलय जहाँ सेवाग्राहीलाई निशुल्क चिया कफिको ब्यबस्था

भैरहवा : ‘प्रत्येक महिना नयाँ काम’ अभियान सुरुवात गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस महिनाबाट कार्यालयमा आउने सबै सेवाग्राहीलाई निःशुल्क चिया/कफी खुवाउन सुरु गरेको छ।

सेवाग्राहीलाई यस्तो सेवा दिने जिल्ला प्रशासान कार्यालय रुपन्देही नेपालकै पहिलो सरकारी कार्यालय बनेको छ।

कार्यालयलाई पूर्ण सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सुरुवात गरिएको ‘प्रत्येक महिना नयाँ काम’ अभियान अन्तर्गत यो महिनाबाट कार्यालयका सेवाग्राहीलाई निःशुल्क चिया/कफी खुवाउन सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई आफैं चिया दिएर बुधबार प्रजिअ रानाले यस कामको सुरुवात गरेका हुन्।

हामीले भेन्डिङ मेसिनमा चिया वा कफी राखिदिनेछौँ’, प्रजिअ रानाले भने, ‘जहाँबाट इच्छुक सेवाग्राहीले आफैं चिया वा कफी निकालेर पिउन सक्नेछन्।’

कामको लागि कागजपत्र बुझाएर बसेका सेवाग्राहीले अब चिया वा कफी पिउँदै पालो पर्खिन सक्छन्।

यस अघि प्रशासन र्यालयमा स्वास्थ्य सेवा, स्तनपान कक्ष, राष्ट्रिय गानबाट कार्यालयको सुरुवात, टेलिभिजन, फ्रि वाइफाई, पुस्तकालय, चिसो–तातो पिउने पानी, नाफा रहित हुलाक टिकट विक्री वितरण, टोकन प्रणालीबाट सेवा लगायत थुप्रै सेवाग्राहीमैत्री काम सुरुवात गरिएको छ।

‘भेन्डिङ मेसिन र अहिले चिया कफी खुवाउनका लागि दुई/तीन महिनासम्म हामीलाई अर्घाखाँची सिमेन्टले सहयोग गर्दैछ’, सहायक प्रजिअ कल्पना घिमिरे नेपालले भनिन्, ‘त्यसपछि पनि कोही न कोही सहयोगी हात पाउने विश्वास लिएका छौँ।’

कार्यालयले सेवाग्राहीको लागि बगैंचा र गोलघरकक्ष समेत निर्माण गरेको छ। सेवाग्राहीले बगैंचामा बसेर थकाई मेट्न पाउँछन्।अन्नपूर्ण पोस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!