“मैले मेरा स्वर्गिय पतिलाई गर्ने मायाको मापन कुनै एउटा पत्रकारको कलम ले कसरी गर्न सक्छ ?” -स्वेता खड्का

नायिका श्वेता खड्काले आफ्नो पति श्रीकृष्ण श्रेष्ठलाई गुमाएको ५ वर्ष भइसक्यो । उनले कुनै पल पनि आफ्नो पतिलाई बिर्सन नसक्ने बताउदै आएकी छिन् । तर एक मिडियामा आफन्तले बिर्सिए पनि हामीले बिर्सिएका छैनौं भन्दै लेख आयो ।

यो लेखले श्वेतालाई ठूलै धक्का पुगे छ । उनले आफ्नो पतिलाई सम्झन विशेष दिन चाहिदैन भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी छिन्, ‘मैले के गुमाए र के पाएँ त्यसको हिसाबकिताब गर्ने हो भने यो उमेरसम्म आईपुग्दा जति पाएको छु त्यो भन्दा धेरै कुरा गुमाएको छु । सबैभन्दा सर्वश्रेष्ठ कुरा, मैले मेरो आत्मिय व्यक्ति गुमाएको छु जसको भर्पाइ कुनै धन सम्पत्ति वा सफलताले गर्न सक्ने छैन ।

मेरा प्रेमी, पति, मित्र र अविभावकको भूमिका निर्वाह गरेर मलाई सिनेमाको जगतमा पाइला चाल्न सिकाउने ति व्यक्ति जसलाई मैले भौतिक रुपमा सदासदाको लागि गुमाएको मेरो जिन्दगीको सबैभन्दा कालो त्यो दिनलाई सम्झन भन्दा पनि बिर्सन चाहन्छु तर कुनै न कुनै माध्यमबाट त्यो कालो दिनलाई सम्झाइदिने अनि खाटो बस्न लागेको घाउमा नुनचुक छरिदिने प्रयासहरु भई नै रहन्छन । श्वेता खड्काले हाँस्नु हुँदैन, श्वेता खड्का आँशुमा नै डुबेर बस्नुपर्छ भन्नेहरुको जमात पनि राम्रै देखेको छु तर त्यो जमातलाई थाहा छैन, पिडा दबाएर हाँस्न कती कठिन छ भनेर ।

उहाँले भौतिक रुपमा संसारबाट विदालिएको त्यो दिनमा धार्मिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै तिथी अनुसार (न की गते अनुसार) कर्मकाण्डको विधि पुरा गर्ने गरेका छौं । अतः यसपाली उहाँको ५ औ पुण्य तिथी आगामी २९ गते परेको छ, जनै पुर्णिमाको एक दिन अगाडि । आफ्नो आत्मिय मान्छेलाई सम्झन कुनै विशेष अवसर या दिन चाहिदैन । म त उहाँलाई हरेक पल, हरेक क्षण र हरेक दिन सम्झिरहेको हुन्छु । धार्मिक रितिरिवाज र परम्परालाई आत्मसाथ गर्ने कुरा भने अलग रह्यो जसलाई तिथी अनुसार नै कर्मकाण्ड गर्ने प्रचलन छ । तर वास्तविक कुरा नबुझी कसैको भावनामा ठेस लाग्ने खालका समाचार बनाएर सम्प्रेषण गरिनु कहाँ सम्मको जायज हो ?

चक्कु, खुकुरी तलवार र काँडाहरु भन्दा पनि तिखो धार भनेको शब्दहरु नै हुन । हतियारको धारले शरीरमा चोट पुर्याउँछ जसको उपचार पनि सजह छ तर शब्दको धारले सिधै मन र मस्तिस्कमा चोट पुर्याउँछ, जसको उपचार कठिन छ । कलमको माध्यमद्वारा शब्द कोरिरहँदा त्यो शब्दले कसलाई र कुन हदसम्म प्रहार गर्छ भनेर नसोच्नु कति सम्मको लापर्वाही होला ! यसरी बुझ्दै नबुझी समाचार प्रकासित गर्दा कसको मनमा के चोट पर्छ भन्ने ख्याल नगर्नु र जसको बारेमा समाचार बनाएको हो त्यो व्यक्तिसंग कुनै किसिमको संवाद, छलफल वा सत्यतथ्य के हो त्यसको खोजतलास नगरि हचुवाको भरमा समाचार लेख्नुलाई कस्तो किसिमको पत्रकारिता भन्ने ? कसैको भावनासंग खेल्ने अधिकार कोही कसैलाई छैन ।

मैले मेरा स्वर्गिय पतिलाई गर्ने मायाको मापन कुनै एउटा पत्रकारको कलम ले कसरी गर्न सक्छ ? जो व्यक्ति आफ्नो मुटुमा बसेको हुन्छ त्यो व्यक्तिलाई भुल्न चाहेर पनि भुल्न सकिदैन । चोखो मायालाई न त भुल्न सकिन्छ न त त्याग्न नै ! मैले मेरा पतिबाट प्राप्त गरेको असिम मायालाई यो जनममा त पक्कै भुल्न सक्ने छैन किनकी हाम्रो माया अटुट छ, चोखो छ अनि निस्वार्थ छ । माया र सम्झनाको तौल हुँदैन, आकार हुँदैन अनि सिमा पनि हुँदैन । मेरा स्वर्गिय पति प्रतिको मेरो प्रेम बुझ्नलाई कोमल हृदय चाहिन्छ । मायाको अर्थ बुझ्नेहरुले मात्र मेरो भावनालाई बुझ्न सक्छन् । अतः मेरो मुटुमा बाँचिरहेका, मेरो ओंठमा हाँसिरहेका, मेरो हरेक पाइलाहरुमा छाँया बनेर मसंगै हिडिरहेका अनि मेरा हरेक सफलताहरुमा रमाइरहेका मेरो जीवनसाथी अझै पनि मेरो मन र मस्तिस्कमा जिवितै छन् र सदा सदा जिवित रहनेछन ।

माया र प्रेमलाई औपचारिकताको माध्यमबाटै सबै सामु दर्शाउनु पर्छ भन्ने सोचलाई म कदापी मान्दिन । प्रेमका बनावटी शब्दहरु कोरेर कृतिम आत्मियता दर्शाउनेहरुले यदि श्रीदादालाई साँच्चिकै माया गर्छन् भने उनै दादाको नाममा बनिरहेको माझी बस्तीमा जाउन र आफुले सकेको सहयोग गरेर उहाँप्रति सच्चा श्रद्धान्जली दिउन । हैन भने मनगढन्ते कथा रचेर कसैको प्रेम, भावना र विश्वास माथि खेल्ने अधिकार कोही कसैलाई पनि छैन । यतिखेर म मेरो स्वर्गिय पतिको सम्झनामा स्थापित श्वेताश्री फाउण्डेसन मार्फत बनिरहेको माझी बस्तिको लागि आर्थिक स्रोत जुटाउन बेल्जियम आईपुगेको छु तर मेरो अनुपस्थितिमा केही अनलाईन मिडिया मार्फत म र मेरो स्वर्गिय पति बिचको प्रेमलाई ‘जोक’ बनाउने प्रयास गरेको पाए कृपया यस्तो घिनलाग्दो खेल नखेलिदिनु हुन म हार्दिक अनुरोध गर्दछु ।’

तपाईको प्रतिक्रिया दिनुहोस