विदेश पठाउँदा लागेको पैसा नतिरेकाे निहुमा म्यानपावरका एजेन्टले डोजर लगाएर घर भत्काइदिए !

धनुषा – विदेश पठाउँदा लागेकाे रकम फिर्ता नगरेको भन्दै महोत्तरीमा एक जनाले डोजर लगाएर ऋणीकाे घर भत्काएका छन् ।महोत्तरीको भंगहा नगरपालिका-१, कविलासा पूर्वारीटोलका मोहम्मद पनित शेखको घर स्थानीय एजेन्ट बद्री ठाकुरले डोजर लगाएर भत्काएका हुन् ।शनिबार सम्पूर्ण परिवारलाई घरबाट निकालेर एजेन्ट ठाकुरले एकाएक डोजर लगाएर भत्काएको शेखकी श्रीमती जाहिरा खातुनले दुखेसो पोख्नुभयो । घर भत्काएपछि शेखका सम्पूर्ण परिवार विस्थापित भएका छन् ।महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाका विषयमा थोरै मात्र जानकारी भएको बताउनुभयो ।

पीडितले उजुरी नदिएकाले कारबाही प्रक्रिया अघि बढाउन नसकेको उहाँको भनाइ छ ।पीडित जाहिराका अनुसार शेख अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा हुनुहुन्छ ।आठ वर्ष अघि एजेन्ट बद्री ठाकुरले शेखलाई २० हजार रुपैयाँमा राम्रो काम र कमाइ हुने कम्पनीमा काम पाइने भन्दै विदेश पठाइदिएका थिए ।तर शेखले त्यहाँ गएपछि राम्रो काम र तलब पाउनुभएन।आफ्ना पति शेख विदेश गएपछि आफ्नो ससुरा अहम शेखसँग एजेन्ट ठाकुरले ८५ हजार रुपैयाँको जाली तमसुक बनाएकाे र त्यही पैसाको ब्याजको स्याज गरी एजेन्ट ठाकुरले मोटो रकम माग गर्ने गरेकाे र जिल्ला अदालत महोत्तरीमा मुद्दा समेत हालेकाे जाहिराले बताउनुभयाे ।

शेखको सम्पतिको नाममा ५ धुर घडेरीमा काठ र माटोले बनाएको यही एउटा सानो घर थियो ।पति विदेश गएपछि कमाएको पैसाले जेठी र माहिली छोरीको बिहे गरेको उहाँकी श्रीमती जाहिराले बताउनुभयो । घरमा १७ र १५ वर्षका दुई छोरी र १० र ८ वर्षका दुई छोरा छन् ।‘विदेशमा पतिको कमाइ थाेरै भएकाले घर व्यवहार चलाउन र २ छोरीको बिहे गर्न बाहेक केही सकिएको छैन, बस्ने घर पनि एजेन्टले भत्काएर सडकमा पुर्‍याए । अब हामी कहाँ बस्ने ?’, जाहिराले आँसु झार्दै भन्नुभयो ।‘पतिले पठाएको डेढ लाख र आफ्नो बुबाले दिएको ५० हजार गरी २ लाख रुपैयाँ, केही सुनचाँदीको गरगहना र खाद्यान्न, लत्ता-कपडासमेत निकाल्न नदिइ डोजर लगाएकाे जाहिराको दुखेसाे छ ।

एजेन्टले पैसा असुलीका लागि मुद्दा हालेपछि गएकाे असारमा ३ लाख रुपैयाँ दिएर हरहिसाब मिलाउन आग्रह गर्दा नमानेको र अहिले एकाएक घर भत्काएकाे जाहिराले आराेप लगाउनुभयाे ।जाहिराले केही वर्ष अघि एजेन्ट ठाकुर राति राति घरमा पसेर ऋण छोडिदिने भन्दै अनैतिक सम्बन्धको प्रस्ताव राख्ने गरेकाे गुनासाे गर्नुभयाे । एक पटक त होहल्ला समेत भइपछि भागेकाे र यस विषयमा पञ्चायत समेत राखिएको थियो । त्यो रीसीबी साँध्नलाई घर तोडेको हुनसक्ने केही स्थानीयको अनुमान छ ।एजेन्ट ठाकुरले शेखको घर आफूले नभइ जिल्ला अदालत महोत्तरी र प्रहरी प्रशासनले भत्काएको दावी गरे ।

शेखले विदेश जानकाे लागि नभएर घर व्यवहारका लागि ७ वर्ष अघि २ लाख ५० हजार ऋण लिएको ठाकुरको भनाइ छ ।‘मसँग शेखले लिएको ऋण तिरेन । त्यसपछि मैले जिल्ला अदालत महोत्तरीमा असुल उपर गरी पाऊँ भनी मुद्दा हालेँ । डेढ वर्ष अघि अदालतले घरघडेरी लिलाम गर्न आदेश दियो’, एजेन्ट ठाकुरले भने, ‘पटक पटक घर खाली गर्न आग्रह गर्दा समेत मानेन । शनिबार अदालत, प्रहरी प्रशासन मिलेर उसको घर भत्कायो । यसमा मेरो कुनै दोष छैन ।’तर जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने घटना सम्बन्धमा अनभिज्ञता देखाएकाे छ ।

भंगहा नगरपालिकाका प्रमुख संजिवकुमार साहले आफूले लेनदेनको मुद्दा मिलाउन तीन पटक पहल गरेको, तर मुद्दा अदालतमा गएकाले केही गर्न नमिल्ने बताउनुभयाे । घर भत्काएको घटना थाहा पाएपछि निकै दु:ख लागेकाे बताउँदै नगरप्रमुख साहले प्रहरी प्रशासनले कानुनी प्रक्रिया अनुसार दोषीमाथि कारबाही गर्नुपर्ने बताउनुभयो ।सिधाकुरा बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!